खण्ड १ ( निम्न वर्गीय परिवार) पढ्नु भएको छैन भने येहा किलिक गर्नु होला।
कोरोना महामारीको बेला ३ परिवार काठमाडौँमा आफ्नो आफ्नो घरमा बसेर लकडाउन अन्त्यकाे प्रतीक्षा गरिरहेका छन्।
तीन परिवार -
- निम्न वर्गीय परिवार
- मध्यम वर्गीय परिवार
- उच्च वर्गीय परिवार
एउटै संसार, एउटै देश, एउटै सहर ,एउटै परिस्थिति तर फरक फरक कथा !
खण्ड २: मध्यम वर्गीय परिवार
दिउँसोको २ बजेको छ। श्रीमान , श्रीमती र बच्चाहरु काठमाडौंको एउटाघरमा चिया र खाजा खाने सुरसार गर्दै छन्।
श्रीमान : आज चिया र पफ खामखाम जस्तो लागेकाे छ। पफ छ कि छैन बुढी ?
श्रीमती : अस्ति ल्याएकाे पफ त सकिए छ तर बिस्कुट रहेछ। आज बिस्कुट खाम न हुदैन र ? भोलि पाइए छ भने भोलिको खाजा खाउँला।
छोरा : आज पफ होइन त्यो गुलियो वाला बिस्कुट थियो नि मैले टिफिन लिएर जाने, हो त्यो खाने है आज।
श्रीमान : ल ल, तिमीहरु कै जित भयो। आज बिस्कुट नै खाम। बरु नानी टि.भी खोल्दै गर त येसो समाचार हेर्नु पर्यो।
श्रीमानको मनोबाद
यो टि.भीमा पनि जहिले मरेको र मारेको बाहेक अरुकेहि आउने भएन। कोरोना अगि हत्या, बलत्कार, झगडा मात्र आउँथ्यो, अहिले चाहिँ यो देशमा यति मोरे र त्यो देशमा यति मोरे भन्ने बाहेक अरु केही आउदैन। संसार पनि के भयो भयो ? प्रेमभन्दा घृणा कति सजिलै बिकेको होला है ? समाचार वालाहरुलाई पनि कमाइगर्न पर्यो, अन्तिममा सवाल पैसा र पेट कै हो। ठिकै छ। अहिले संसार नै स्थिर छ, हाम्रो सरकार झन् भन्नै परेन। अरु बेला त यसै बस्नेलाई बहाना भएको छ।
भूकम्प र नाकाबन्दीको झडकाबाट बल्ल बल्ल उठेको थियै।अब फेरि यो कोरोनाले कति तल झार्ने हो। त्यति खेर त त्यस्तो झट्का हानेको थियो अर्थतन्त्र र व्यवसायमा अब झन् कस्तो हान्ने हो ? अझ त्यतिखेर असर हाम्रो देशमा मात्र परेको थियो, सहयोग गर्ने हातहरु पनि धेरै थिए, त्यसैले त सजिलो भएको थियो। येत्रो हुदा हुदा त अवस्था एस्तो छ, झन् यसपाली त पुरै संसारै शिथिल भएको छ, कसले कसलाई उठाउने कै खै ? अरु देशमा सरकारले धेरै प्याकेजहरु घोषणा गरि सकेको छ हाम्रो भने कुर्ची बचाउने खेलमा बेस्त छ, खोइ के हुने हो हाम्रो ? ऋणको विषयमा मात्र केहि घोषणा गर्दिए पनि मन ढुक्क हुन्थियो। तर खोइ केहि बोल्दैन सरकार।
येत्रो खर्च र ऋण गरेर घर बनाइ हालियो,अब खै कसरी तिर्ने हो ? भुकम्प अगि राम्रो कमाइ भएको कारणले घर आटी हालियो तर त्यो भूकम्पले सबै चक्नाचुर पार्यो। घर त जसोतसो गरेर झन्डै ३ बष बर्ष लगाएर सकियो तर त्यसको ऋण भने अझै सकिएको छैन। त्यही ऋणले गर्दा त्यस्तो कमाइ हुने होटेल पनि बेच्नु पर्यो। दोष ऋणको मात्रै होइन, त्यतिखेर भूकम्प र नाकाबन्दी नभएको भए पनि धानिन्थियो होला। सबैथोक एकै चोटी आएपछि नसकिने रहेछ। त्यो होटेल अहिलेसम्म टिकाउन सकेको भए ऋण मुक्त भइ सकिन्था होला तर भन्छन नि ' जे हुन्छ राम्रोको लागि हुन्छ। त्यो होटेल नबेचेको भए , न त ऋण कम हुन्थियो, न त अहिलेको व्यवसाय हुन्थ्यो, न त घर नै हुन्थ्यो न त मेरो बुढीमा त्यो परिवर्तन नै हुन्थियो।
जग्गा ३ आना भएपनि घरचाहिँ राम्रो बनेको छ। बुढीको करले सुरु गरेपनि अहिले चाही आफ्नो घरमा बस्न पाउँदा आनन्द लाग्छ। घर बनेपछि उसको स्वभावमा पनि निकै परिवर्तन आएको छ। पहिले गाउँमा जाँदा माटो छुन पर्यो भने घिन मान्थीन,अहिले आफै गमला ल्याएर फूलसुल, तरकारी आफै लगाएकी छिन्। समय र परिस्थितिले मान्छेलाई परिवर्तन गर्छ भन्ने सुनेको थिए तर आफ्नै बुढीमा देखे पनि। ऋण र आर्थिक संकटमा परेपछि कस्ता-कस्ता मान्छे त फेरिन्छन्, उ त मेरी बुढी मात्र न परि। भूकम्प पछि तुरुन्तै आफै काम गर्न शुरु गरिन, मैले केहि भनेको थिएन उसलाई। मैले घर बनाउन दबाब दिएर गल्ती गरें जस्तो लागेछ क्या उसलाई, अहिले अलि बढी नै मेहनत गर्छिन। तर मैले उसलाई र मेरो मनलाई पनि स्पष्टसँग उसको केही गल्ती छैन भनेर स्पष्ट परिसके। किनकि उसले कर नगरेको भए अहिले पनि हामी त्यही कोठामा हुन्थियौ, अझ यो लकडाउनको बेलामा कसरी बसिन्थियो कल्पना पनि गर्न सक्दिन। अहिले घुम्न जान नपाएपनि आफ्नै छत छ र बाहिर निस्कने ठाउँ छ। फूलहरु र तरकारीले गर्दा निकै रमणीय भएको छ बसोबास हाम्रो। यसको श्रेय पनि मेरी श्रीमतीलाई नै जान्छ। कुन दिन अब गाँउ जाऊ भनेर भन्न सक्छिन , उनमा परिवर्तन त्येस्तो आएको छ।
गाउँ सम्झँदा मेरो अनुहरमा मुस्कान आउँछ रे, मेरी श्रीमतीले भन्िछन।आउन पनि किन नआओस्, बाल्यकाल र किशोरअवस्था सबै त्यही बिताएको हो। बच्चै देखिका साथीहरु त्यहीं छन्, अझ आफ्ना आमा बा पनि त्यही हुनुहुन्छ। मनै आनन्द भएर आउँछ, त्यो हरियाली, हाम्रो घर र गाउँ सम्झदा। सानामा नचढेको रूख र नचिनेको घर गाउँमा कुनै पनि थिएन होला तर आजकल त नचिनेको घरहरु नै येति धेरै छन् रुख त परको कुरा हो। आमाबालाई पनि यहीँ हामीसँग आएर बस्नु भनेर भनेको पनि धेरै वर्ष भयो। आऊछू आऊछू भन्नुहुन्छ, आए पनि एक हप्ता भन्दा बढी बस्नु हुदैन , एक हप्ता पछि काम बित्न लाग्यो हाम्रो भनेर हिडी हाल्नु हुन्छ।
कता कतै मैले पनि बुझेको छु कि जस्तो लाग्छ उहाँहरूको मन। आफ्नो छोराबुहारी र नातिनातिनाको मुख हेर्न मन लाग्छ होला अनि असेर लगेर आउनुहुन्छ। यहाँ आएपछि ३ ४ दिन सम्म नि निकै खुसी देखिनु हुन्छ तर त्यसपछि छोरा आफ्नो काममा,बुहारी आफ्नो काममा र नातिनातिना आफ्नो स्कुलमा व्यस्त भएको देखेर होला, अन्तिममा गएर हामी बुढाबुढी मात्र एउटा घरमा टुक्रुक्क बस्ने हो भने त बरु यो खुम्चिएको काठमाडौँ भन्दा तआफ्नै गाउँमा गएर बसौं भन्ने सोच आउछ होला। म जसले जीवनको थोरै समय गाउँमा बिताएको छु, मलाई त यस्तो माया लाग्छ; उहाँहरु जसले आफ्नो पुरै जिन्दगी नै त्यही बिताउनुभएको छ, उहाँहरूको आफ्नो ठाउँ प्रतिको माया झन कति होला ? के गर्नु वाध्यता छ, केटाकेटीहरूको लागि राम्रो पढाई र राम्रो कामको लागि काठमाडौँ नै आउनु पर्छ। सबै देश नै यहि छ।
अहिलेसम्म त अति आवश्यक सुविधाहरू अझै त निम्न छन् , मैले गाउँ छोडेर शहर आउँदा झन् कस्तो थियो। हो खेति गर्यो भने खानको समस्या चाहि हुँदैन, मौसमले साथ दियो पनि। केटाकेटीलाई राम्रो शिक्षा दिनु पर्यो र आफु र आफ्नो परिवारलाई पनि राम्रो जीवन दिनको लागि मैले गाउँ छाडेको। आमाबाले पनि मेरो बाध्यता बुझ्नु भएर होला, पहिले पहिले त फर्कि फर्की भन्नुहुन्थ्यो तर आजकल चाहिँ मेसो मिलाएर बेलाबेलामा आइज न भई हाल्यो नि भनेर भन्नुहुन्छ। बुढाबुढी भएका आमाबालाई छोड्ने मन त छैन मेरो तर के गर्नु अरु उपाए पनि छैन। आफ्नो वृद्ध अवस्थामा भएका आमाबालाई संगै राखेर सेवा गर्न सकेको छैन मैले , यी केटाकेटीले मेरो बुढेसकालमा सेवा गर्छन भन्ने आशा राख्नु ब्यर्थ छ।
भन्छन नि जे रोप्छौ, त्यही पाउँछौं। बिचारा केटाकेटीले पनि जे देख्छन त्येही सिक्ने त हुन् नि। न त उनीहरूको गल्ती छ न त मेरो र मेरो श्रीमतीको, यो सबै समय र परिस्थितिको खेल रहेछ, कहिले कता नचाउछ, कहिले कता। अब अरु केही भएन भने पसल बेचेर गाउँतिर लाग्नु पर्यो। धेरै नभए पनि खान पुग्ने जग्गा-जमिन अझै बाँकी छ। यो काठमाडौंको जग्गा किन्दा नबेचेको भए अझ बढी बाकी हुन्थ्यो। के गर्नु त्यति बेला काठमाडौँ काठमाडौँ भनेर गाउँको त्येस्तो खेती हुने जमिन कौडीको भाउमा बेचियो, अनि काठमाडौंमा एउटा टुक्रो आयो। अहिले गाउँतिर जग्गा छोई सक्नु छैन, लाग्छ पछि गएर काठमाडौँ भन्दा पनि हाम्रो गाउँतिरको जग्गा धेरै महँगो हुन्छ। सबै समयको खेल हो। मेरो बुढीलाई झन् कस्तो हुन्छ होला यो कुरा ले ?
उसले काम गर्ने होटेलले पनि ६ महिनाको बिदा दिईसक्यो र मासिक रुपमा १२ प्रतिशत मात्र तलब दिने रे। त्यो १२ प्रतिशतले के गर्ने खै, हुन त केही नदिनु भन्दा १२ % दिएको नि धेरै राम्रै हो तर यस्तो महँगाई र ऋणले थिचिएको बेला त्यसले के गर्ला र। उसले त बरु जागिर खाएको भएर केही भए नी पाई तर अरु पसल गर्नेहरुले के गर्छन् होला यस्तो अवस्थामा। आर्थिक मन्दीले यसपालि एउटा देशलाई मात्र हैन संसारलाई जगाटेको छ, विज्ञहरुको भन्दैछन् यसपालिको आर्थिकमन्दी २००८ को भन्दा पनि चर्को हुन्छ रे। अझ २००८ को आर्थिकमन्दीले नेपाललाई छोएको थिएन ,खोइ के हुने हो हाम्रो ?
होटेल बेचेर फेरि पर्यटन क्षेत्रमा हात हाल्नु गल्ती त हुदैन ? अहिले गरी रहेको व्यवसाय राम्रो चली रहेको थियो, अझ यसपाली पर्यटन वर्षबाट धेरै आशा थियो। यो बर्ष राम्रो भएको भए अर्को वर्ष ऋण मुक्त भइन्थ्यो होला।गोदाममा पनि स्टक राखेको थिए, यसपालि माग ठूलो हुन्छ भनेर। व्यापार बनी एकदमै राम्रो हुन्छ भन्ने आशा गरेको थिएँ तर सबै सपना चकनाचुर भयो अब फेरि यो पनि बेचेर गाउँ फर्कने अवस्था आउने त हैन? घर भाडा त तिर्नुपर्दैन तर पसलको भाडा र बैङ्कको ब्याज चाहिँ कसरी तिर्ने हो कुन्नि ? सरकारले केही प्याकेज ल्याउँछ भन्छन् भन्न त, तर खै येत्रो दिनसम्म नपाएकालाई खाना त खुवाउन सकेको छैन, प्याकेजको के आशा गर्नु। अझ भूकम्पपछिको कामलाई सम्झने हो भने त सातो जान्छ मेरो। सरकारमा बस्नेहरुलाई फरक नपार्ला तर हामी सर्वसाधारणलाई त बाँच्नै गारो पो हुन्छ त। अरु आशा राख्ने ठाउँ पनि छैन नि।
केटाकेटीको स्कुल बन्द भएको नि धेरै भयो। धन्न खानाको लागि चाहिँ अहिले सम्म गरेको बचतले धानिरहेको छ। अहिलेसम्म तिनीहरूलाई खानाको विषयमा मन मार्न परेको छैन। स्कुल यो वर्ष पढाईको कारणले भन्दा पनि स्कुल फीसको कारणले चाँडै खुल्ला जस्तो छ। यस्तो बेलामा हतार गरेर क गर्न खोजेको होला ? जीवन नै रहेन भने शिक्षाको के काम होला ? बरु सबैलाई एक कक्षा चढाई दिए पनि हुन्थ्यो, यी भन्टयांग भुन्टुंगलाई खासै फरक पर्दैन जस्तो लाग्छ मलाई। अहिले जबरजस्ती गरेर अनावश्यक तनाव दिनु भन्दा त येही उपाय ठिक होला नि। यो संसारलाई परेको हो एउटा क्लास वा एउटा स्कुल वा एउटा देशलाई मात्र होइन। हाम्रो सरकार र मन्त्रीहरु नि निकै नौला छन् के गर्छन् गर्छन् भन्न सकिँदैन। हेरौ यसपालि के गर्छ सरकारले ? कोरोनाको परीक्षण जस्तो कछुवाको तालमा चाहिँ काम नगरे हुन्थ्यो। यत्रो ४५ ,४५ दिन सम्म नि एक लाख पुगेको छैन।
हो लकडाउन राम्रो कदम हो तर यो मात्रै समस्याको समाधान चाहि हैन। कहिलेसम्म चल्छ येसरी नै , दुई महिना हुन लाग्यो जनजीवन असामान्य भएको, सरकारमा बस्नेहरूको पहिला पनि चलिआएको थियो यसरी नै केही नगरेर पछि पनि चल्ला तर हाम्रो त येसरी चल्दैन। यो कोरोनालाई अहिले नै किन आउनु परेको होला। यसको एउटा मात्र राम्रो कुरा भनेको मैले केटाकेटी र श्रीमतीसँग समय बिताउन पाएको छु, अझ आमाबाबु पनि येही हुनु भएको भए कति आनन्द आउँथ्यो।उहाहरु सँगै हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो। आफ्नो छोरा प्रतिको माया ले नै होला, पहिले हप्तामा एकचोटी कुरा गर्नुहुन्थ्यो,अहिले दिनहु फोन गर्नुहुन्छ। अनि कुराकानीको अन्तिममा मिल्नेबित्तिकै आइहाले, यता गाउँमा कमसेकम खाना र घरमा थुनेर बस्न त पर्दैन, आफ्नो भकारी र खेतमा मन ताजा हुन्छ। वर्तमान त रमाइलो छ तर भविष्यका दिन सम्झेर चाहि डर लाग्छ। के हुने हो खै?
Source: Facebook (To the rightful owner) |
सिंहदरबार हेर्दा केही गरिरहेको जस्तो लाग्दैन दशैतिहार बेला को छुट्टी जस्तै भएको छ। मलाई एउटा पसलको लागि त्यत्रो योजना र समयलागेको थियो, देशनै चलाउन झन् कति योजना र समय लाग्ने होला ? तर खै केहि सुरसार छैन। सरकारको काम त सेवा गर्ने हो भन्थे तर हाम्रो देशको सरकारको काम चाहि सधै सेवा लिने मात्र देखिन्छ। मेरा छाेराछाेरी त परिक्षा दिनु भन्दा कम्तीमा २ ,३ दिन अगिबाट पढ्न सुरु गर्छन् तर हाम्रो सरकार गजब छ बा। खोइ के गर्न खोजेको हो ?
येत्रो दिन सम्म सिमानामा आफ्नो घर आउन पर्खि बसेका नेपालीलाई त घर पुर्याउन सकेको छैन हाम्रो सरकार। हुन त चीन जस्तो देशले त आफ्नो नागरिकलाई फर्काउन सकेको छैन। अब हाम्रा सबै नेताहरुलाई सल्लाह दिनेले त गर्न सकेको छैन, हाम्रो विचरा सरकारले झन् कसरी सकोस। अझ आफ्नो देशको भूभागमा सडक बन्दा पत्तो नपाउने सरकारबाट के आशा गर्नु र खै ?
सरकारले के गर्ला र ?
श्रीमतीको मनोबाद
मैले काम गर्न सुरु गरेको नि तीन वर्ष पुग्न आटेछ। होटलहरु पनि ६ महिना लाइ बन्द गर्ने घोषणा गरे, अनि तलब पनि मासिक १२ प्रतिशत ले मात्र दिने रे। त्यो १२ प्रतिशतले बाबुको स्कुलको फीस नि तिर्न पुग्दैन। धन्न बचत गर्ने बानी वेलामा बसाले, नत्रता अहिले खान को लागि पनि गाह्रो हुन्थ्यो। येत्रो वर्षको मेहेनत पछि बल्ल खानको समस्याबाट चाहिँ चिन्तित हुनु परेको छैन। मेरो कमाईले मात्र सम्भव भएको होइन; उहाँको कमाईले ऋण र घरखर्च धानेको थियो र मेरोले चाहि बच्चाहरु फिज र अलि अलि बचत हुन्थियो। त्येही बचतले खाइरहेका छौं अहिले सम्म तर कति दिन सम्म धान्ने हो खोइ ? घरको ऋण नभएको भए पनि यस्तो चिन्ता हुँदैनथ्यो होला। गल्ती मेरै हो !
काठमाडौंमा जग्गा किन्न र घर बनाउनको लागि जोड मैले गरेकी थिएँ। अझ, विशेषगरी घर बनाउनको लागि। राम्रै चलिरहेको थियो; भूकम्प र नाकाबन्दी नभएको भए हामी यो परिस्थितिमा हुँदैन थियौँ होला। ऋणको ब्याजलाई सम्झिएर नै होला, उहाँ राती बेलाबेलामा निन्द्राबाट बिउँझिनुहुन्छ। के भयो भनेर सोध्दा खेरी, पानी तिर्खा लगेर हो भनेर ढाँट्नु हुन्छ। गल्ती मेरै हो, मैले त्यति जोड नगरेको भए आज यो ऋण हुँदैन थियो। आफ्नो गल्तीको महसुस अलि ढिलो भयो मलाई तर त्यति बेलासम्म हामी ऋणको बोझमा दबी सकेका थियौँ। यो ऋणलाई धन्यवाद पनि दिनु पर्छ, यसले ममा धेरै सकारात्मक परिवर्तन पनि लाएको छ।
अहिले म आफैंले आफैंलाई हेरेर अचम्म लाग्छ। माटो देखि एलर्जी हुने म, अहिले म तेही माटोसँग आफ्नो खुशी साटेकी छु भनेर भन्दा नि खासै फरक पर्दैन। कमसेकम तरकारी बजारबाट किन्न परेन भने पनि बचत बढ्छ भन्ने सोचले मैले यो सुरु गरेकी हु। फूल बेचेर धेरै कमाई नभएपनि खर्च चल्छ र तरकारीले हामीलाई मज्जाले खान पुग्छ। उहाँलाई पनि निकै अचम्म लागेको थियो मैले यो सुरु गर्छु भनेर भन्दाखेरी।अझ, उहाँले त पर्दैन मैले समाली हाल्छु नि भनेर भन्दै हुनुहुन्थ्यो। मेरो माटो प्रतिको एलर्जी सम्झेर होला त्येसो भन्नु भएको। मेरो यो अलि अलि घमण्डी स्वभावले यसपालि चाहिँ राम्रो काम गर्यो। मैले आफ्नै सुरले जबर्जस्ती सुरु गरे, अनि त्यसपछि मेरो माटोसँगको प्रेम पनि बढेको छ।
उहाँको गाउँ प्रतिको माया अलिअलि भए पनि बुझेकी छु। गाउँ जाऊ भन्दा पहिला पहिला मलाई रिस उठ्थियो।मान्छे मजस्तो घमण्डी र डाही भएर केहि हुदैन रहेछ, अहिले सम्झदा दुःख र आफै माथि हासो मात्र लाग्छ। जहोस् , त्यो घटनापछि मेरो रिस गर्ने बानी धेरै कम भएको छ। उहाँले भन्नुहुन्थ्यो "अरुसँग दाजिएर मानिसको जीवनमा कहिले पनि खुशी हुन सकिदैन", मैले अहिले बल्ल बुझे जस्तो लाग्छ यो कुरा। अहिले अलिकति दुःख र तनाव भएपनि, म पहिले भन्दा धेरै खुशी र आनन्दित छु। गाउँ जाने कि भनेर पनि सोचिरहेकी छु। यहाँ यत्तिकै फाल्तु भएर बस्नु भन्दा त गाउँ गरेरै खेती गर्यो भने अर्को वर्षलाई के खाने भनेर सोच्नु त पर्दैन। त्यसमाथि आमाबुबासँग नि सँगै बस्न पाइने। मैले आफूलाई परिवर्तन गरेपछि आमाबुवाको प्रेमलाई पनि राम्रो सँग बुझेकी छु। आमाबा पहिलेका कुरा सम्झेर हामीसँग काठमाडौंमा नबस्नु भाको त होइन,भन्ने चिन्ताले मलाई निद्राबाट ब्युँझछ घरिघरि। तर आमाबुबाको मन विशाल हुन्छ र आफ्नो छोराछोरीलाई क्षमा गरिहाल्छन् नि भनेर फेरि मनलाई चित्त बुझाउँछु। आफू आमा भएपछि र आफ्ना छोराछोरी हुर्कदै गएपछि आमाबुबाको माया अझ स्पष्ट हुँदै जादो रहेछ। आशा गर्छु यो बुझ्न मैले धेरै ढिलो गरेकी छैन।
पहिले-पहिले साथीहरुले जे गरे त्यही र ज किने त्यही चाहिन्थ्यो। अझ अरुले फेसबुकमा केही राखे भने, यो भन्दा राम्रो कसरी राख्न सकिन्छ भन्नेतिर ध्यान जान्थियो मेरो। तर आजकल मलाई त्यस्ता कुराले केही फरक पार्दैनन्। पहिले अरु खुसी भएको देख्दा डाहा हुन्थ्यो तर आजकल खुसी लाग्छ। मैले आफुले आफैंलाई र आफ्नो परिस्थितिलाई स्वीकार गरिसकेकी छु। त्यसैले आजकल सबै कुरामा राम्रो हेर्ने कोशिस गरिरहेकी छु। अलि बेलैमा बुद्धि आएको भए मेरो श्रीमानले कम दुख पाउनुहुन्थ्यो होला। घरको विषयमा मात्र होइन अन्य थुप्रै छन् यस्ता विषयहरु। भो नसझंम ति कुराहरु। मलाई थाहा छ उहाँले कहिले पनि मलाई दोष लगाउनु भएको छैन, घरको कुरा होस् या अरु कुरा। तर मैले आफैलाई माफ गर्न भने सकेकी छैन। अझ केटाकेटी बुझ्ने भाका भए, यिनीहरुको अगि मुख कसरी देखाउँथे होला मैले ?
केटाकेटीको पढाइलाई लिएर चिन्ता पनि लागिरहेको छ, कहिले ठूलो हुने होला यिनीहरु। उनीहरू जति बढ्दै जान्छन खर्च पनि त्यति नै बढ्दै जाँदो रहेछ। स्कूल पठाउदा त यति खर्च छ, कलेजमा झन् कति हुनेहाेला ? नानीको पढाइ त राम्रो छ, आफैं मेहेनत गर्छे तर बाबु चाहि अलि कमजोर छ। बाबु सानै छ त्यही भएर पनि होला। हामीले समय पनि दिन भ्याएका छैनौँ बाबुनानीलाई। हाम्रो घर आउने समयको पनि ठेगान हुँदैन।नानीलाई पनि आफ्नो गृहकार्य र घरको कामले फुर्सद हुँदैन अनि बाबुलाई कसले सिकाउन ? यो लकडाउनले गरेको एउटा मात्रै राम्रो काम चाहिँ येही हो, आफ्नो परिवारसँग समय मज्जाले बिताउन पाएका छौ। उहाँको अनुहार नि निकै खुशी देख्छु पहिलेको तुलनामा, तनाव त छ तर केटाकेटीहरूसँग खेल्दा त्यो पनि हराउँछ। अझ आमाबुवा पनि समय संगै हुनुभएको भए कति रमाइलो हुन्थ्यो होला ? अहिले धन्न पानीको समस्या चाहि भएन, किन्ने परे पनि किन्न पाइएको छ। अहिले त आनन्द नै छ तर याे लकडाउन पछि चाहि के हुने हो खै ?
सरकारले ब्याज र व्यवसायी सम्बन्धित केही पनि घोषणा गरेको छैन। चाँडै घोषणा गर्यो भने हामी पनि निर्धक्क हुने थियौं। कमसेकम, ब्याज एक वर्ष सम्मलाई तिर्न परेन भने बाँचिन् थियो। उहाँको नयाँ व्यवसायलाई पनि केही राहत हुन्थ्यो ,फाइदा भन्दा पनि बेच्न पर्दैन थिओ भन्ने कुरा मात्र हो। पसलको भाडा पनि तिर्नु पर्ला, त्येस्तो मंहगो छ। घरबेटीले लकडाउन पछि के भन्ने हुन् ? हाम्रो सरकारले भन्न त बनेको छ तर सबैको आफ्नो आफ्नो बाध्यता हुन्छ के गरुन विचरा। हामीले हाम्रो पसलमा काम गर्ने भाईलाई पनि तलब दिनुपर्छ,अहिलेसम्म त तलब रोकेका छैनौं। पुगे सम्म रोक्ने पाप पनि गर्दैनौ तर कुरा कहिले सम्मको लागि भन्ने हो। सरकारले राम्रो योजना र कार्य नगरे सम्म गारो छ। हामीलाई त बरु बचतले धानी रहेको छ, विचरा दैनिक काम गर्ने ज्याला मजदुरहरुको अवस्था कस्तो दर्दनाक भएको छ। टि.भीमा समाचार हेर्दा सिरिङ्ग हुन्छ, खान नपाएको दुख देख्दा। त्यही भएर नै होला उहाँले कान्छाको (पसलमा काम गर्न भाई) तलब चाहिँ रोक्नुभएको छैन। सरकारको कुरा मात्रै हो भर परेर केही हुँदैन भन्ने थाहा पाएर नै होला।तर यस्तो गरेर कहिलेसम्म चल्ला ? सरकारको होस कहिले आउने हो खै ?
सरकारले खै के गर्ला र?
केटाकेटीको मनोबाद
छोरी (नानी) उमेर १२ वर्ष
अचेल घर बस्दा पनि मज्जा आउछ, बाबा मम्मी सँगै यसरी समय बिताउन पाइएको छ। हजुरबुवा र आमा पनि सँगै हुनुभएको भए कति रमाइलो हुन्थ्यो अझै। मलाई सबसे मज्जा त, मम्मी घरमा हुनुभएपछि मैले घरको केही काम गर्न परेको छैन। नत्र पहिले त खाजा र भाईलाई हेर्दा, मेरो सबै समय जान्थ्यो।अहिले आफूलाई मन पर्ने काम मात्र गर्न पाउँदा निकै खुशी लागेको छ मलाई। एउटा मात्रै दुख छ, त्यो चाहि साथीहरू भेट्न चाहि पाएँकि छैन। तर पनि बेलाबेलामा कुराकानी गरेर, त्यो दुख पनि अलि कम भएको छ। कहिले भेट्न पाउने होला फेरी ? ऋणको कुरा सम्झदा निकै नरमाइलो लाग्छ मलाई। यी ऋणको कारणले गर्दाखेरि हो बाबा र मम्मी सँग मैले धेरै समय बिताउन नपाएको।
ऋणको बारेमा मैले चाल पाएको धेरै भएको छैन। मैले बाबामुम्मीको कुराकानी चलिरहेको बेला सुनेकी र के हो भनेर सोध्दा खेरि, हामीले बैंकलाई तिर्नुपर्ने पैसा रे। यो पैसाले गर्दा खेरि नै हो बाबाममी यस्तो चिन्तित र बेस्त हुनुभएको।अझ बढी बुझ्न खोज्दा मम्मीले त भयो तैले जान्नु पर्दैन भन्दै हुनुहुन्थियो। बाबा र म भएर मिलाई हाल्छौं, चिन्ता मान्नु पर्दैन भन्दै मलाई अर्को कोठामा पठाउनु भयो। मैले अरुलाई सोध्दा र यताउता बुझ्दा थाहापाए कि ऋण तिर्न नसक्दा खेरि के हुँदोरहेछ भनेर। हाम्रो घरै बैंकले लिदो रहेछ। अब घर नै बैंकले लग्यो भने हामी कहाँ गएर बस्ने होला ? तर मैले थाहा पाएकी छु भनेर आजसम्म पनि बाबा मम्मिलाई अनुभूतिहुन दिएकी छैन। मैले त्येस दिन देखी चाहिँ बाबामम्मीले गर्नुभएको मेहेनत र त्याग बुझे अनि मैले गर्न सक्ने सहयोग उहाहरुलाई केहि नभनिकन खुसीसाथ गर्छु। ऋणको र घर छोड्ने कुरा सम्झँदा अहिलेको सबै खुसी हराउछ मेरो।
यो लकडाउनले मलाई चाहिँ खुसी पनि दिएको छ अनि दुःख पनि। यसरी फेरि कहिले बाबामम्मीसँग बस्न पाइएला र ? फेरी खुले पछि उहाँहरु आफ्नो काममा, हामी आफ्नो स्कुलमा हुन्छौ। हाम्रो भेट क्षणिक खाने समयमा सिमित हुन्छ, त्यो पनि कहिलेकाहीँ मात्र। तर सधैँ घरमा बसेर पनि भएन। ऋण तिरेर घर जोगाउनु छ। कहिले खुल्छ होला यो लकडाउन ? स्कुल कहिले जन पाइने हो कुन्नि ?
भाइको मनोवाद (बाबु ) उमेर ९ वर्ष
खाजा खाने भनेर मेरो गेम छुट्यो। अगि भर्खर खाना खाएको जस्तो लाग्छ फेरि खाजा खानु पर्ने रे। मलाई त खाजासाजा भन्दा गेम खेल्न पाए मात्र पुग्छ। साथीले मलाई जित्यो होला अहिले सम्म त।सबै यो खाजाको चक्करले गर्दा खेरी हो। हुन त आँखा पनि बिझई रहेको छ, एकछिन आराम गरेर खेल्छु फेरि। ठिकै छ।
सधै येस्तै छुट्टी भए पनि हुन्थ्यो नि स्कूल जान पनि नपर्ने, पढ्न पनि नपर्ने, सधैं खेल्ने मात्र मज्जा हुन्थ्यो। अझ प्ले स्टेशन किन्दिनु भएको भए त कति रमाइलो हुन्थ्यो। त्येसमा कतिधेरै गेम हुन्छन् रे। यो मोबाइलमा खेल्न नि गाह्रो र राम्रो राम्रो गेमहरु पनि यसमा हुँदैन। बुवाले आर्को वर्ष फस्ट भयौ भने किन्दिन्छु भनेर बन्नुभएको छ। अर्को वर्ष जसरी भएपनि किन्नुपर्छ, अर्को वर्ष नि लकडाउन भयो भने खेल्न हुन्छ। यो लकडाउन येसरी नै भई राखे हुन्थियो।
बाहिर गएर नि के खेल्ने, वरिपरि साथी त छैनन् नत खेल्ने ठाउँनै छ। घाममा खेल्यो भने बिरामी भइन्छ रे, त्यस माथि पहिले तेस्तो गाडी हिड्ने बाटोमा खेल्न पनि डर लाग्ने। त्यो भन्दा बरु आरामले घरमै बसेर मोबाइलमा गेमखेल्छु। हाम्रो स्कुल नखोले पनि हुन्थियो नि, येस्तो रमाइलाे भई रहेको बेला।
वर्तमान
छोरी : बाबा ! त्यो रिमोट पास गर्नु त , अर्को च्यानल हेरुम। केहि राम्रो फिल्म आएको छ कि ? खाली समाचार मात्र के हेर्ने ? बाबा !
श्रीमान: ह ? के भनेउ रे नानी ?
छोरी : रिमोट पास गर्नु भनेको। रिमोट !
श्रीमती : इ ला रिमोट।
सरकार
पहिले कुर्ची बचाऊ, देश आफै बच्दै गर्छ।
la bhai yo pani ramro chha..
ReplyDeletela dhanyabad !
Delete