कोरोना महामारीको बेला ३ परिवार काठमाडौँमा आफ्नो आफ्नो घरमा बसेर लकडाउन अन्त्यकाे प्रतीक्षा गरिरहेका छन्।

तीन परिवार -
- निम्न वर्गीय परिवार
- मध्यम वर्गीय परिवार
- उच्च वर्गीय परिवार
एउटै संसार, एउटै देश, एउटै सहर ,एउटै परिस्थिति तर फरक फरक कथा !
खण्ड १ : निम्न वर्गीय परिवार
दिउँसोको २ बजेको छ। श्रीमान , श्रीमती र बच्चाहरु काठमाडौंको एउटा कोठामा चिया पिउनका लागि तयारी गर्दै छन्।
श्रीमानको मनोवाद
जुन कोठा पहिले दिन भरि काम गरेर आउदा ठुलो लाग्दथियो, अहिले त्यहि कोठा यती साँगुरो लाग्छ कि निसासिएर ज्यान जान्छ कि भन्ने डर पो लाग्छ। भाको एउटा झयाल बाहिर हेर्दा पनि अर्को घर बाहेक अरु केहि देखिदैन। त्यो पनि नहेरे, आफ्नो कोठामा सकिन लागेको ग्यास सिलिन्डर र बाकी रहेको २ छाक चामल तिर ध्यान जाला कि भन्ने डर। सरकारले दिएको राहत सकिएको पनि २ हप्ता भयो आज , धन्न भगवान जस्तो घरबेटी पाएको छु। २ हप्ताबाट खुवाई राख्नु भाको छ। मेरो इमानलाई सम्झिएर होला त्यसै दिनु भन्दा काम गरेर तिर्नु, अहिले चिन्त्ता नलिनु भनेर भन्नु भएको छ। होकी, श्रीमतीको यो अहिले छैठौं महिना चल्दै छ भन्ने थाहा पाएर हो। जे भएर होस् , उहाको यस स्नेहलाइ न मैले न मेरा परिवारलाइ भुल्न दिने छु। अब फेरि, उहाको अगि गएर चामल माग्ने हिम्मत छैन म मा। किनभने चामल त चामल, उहाँले घरभाडा पनि काम गरेर तिरौला भनेर भन्दा मेरो आखा एक्कासी चिलाए जस्तो भयो अनि आफै पानी बग्न थाल्यो।येसरी एक्कासी आँखाबाट पानी निस्केको पनि धेरै समय पछि हो। सबै राम्रै चली रहेको थियो लकडाउन अगि।
यसरी आँखाबाट पानी कहिले निस्केको थियो भनेर सम्झन खोज्दा झल्यास आमाको दाउरा माथिको अनुहार याद आयो। आमाले संसार छोड्नु भाको पनी १० वर्ष भईसकेछ, अझै पनी गाउँ गए भने आमालाई पिडिमा बसेर बाटोतिर हेरिरहेको देख्छु जस्तो लाग्छ। आमाको माया र आशिर्वादले गर्दा नै अहिलेसम्म बाँचिरहेका छौं। आमा र छोरोछोरीको सम्बन्ध पनि अचम्मको हुदोरहेछ, छोराछोरीलाई आमा हुँदा त्यति वास्ता नलाग्ने नभएपछि हरेक दिन याद आउने, अनौठो रहेछ। अझ ठुलीको अनुहार आमासँग येति मेल खान्छ कि, कहिले काई त म आमा संगै छु जस्तो लाग्छ। अहिले ठुलीलाई खानाको विषयमा सम्झाउँदा आफ्नी आमा र छोरीलाई एक्कैचोटि खान नदिएको आत्मग्लानि हुन्छ।
मैले त एकै छाक खाएर नि टारुम्ला, ठुलीलाई पनि सम्झाउँला र कान्छालाई धेरै चाहिदैन। त्यसमाथि, हिजोको जस्तो खानाअघि एक ग्लास पानी पिलाई दिएपछि त अझ सजिलो भएको छ। तर , त्यो पेट भित्र भाको बच्चा र उस्की आमालाई के भन्ने हो सोच्न सकेको छैन। मैले जस्तो एक छाक खाएर के होला र दुइ ज्यानलाई। खै के गर्ने हो सोच्न सकेको छैन।
काम गर्न पाए त दिनको १६ घण्टा काम गरेर भए पनि खानाको समस्या हुन दिँदैन थिए। धन्न स्कुलहरु बन्द भएर स्कुललाई पैसा बुझाउन परेको छैन नत्र त केटाकेटीलाई स्कुल पठाउन नसकेको पिरले खान्थ्यो मलाई। नत गाउँ जान नै पाको हो तर गएर पनि के गर्ने। गाउँमा पनि न त खानेकुरा नै छ न त खेती गर्ने जग्गा। त्यहि एउटा हजुरबाले बनाउनु भएको घर छ त्यो पनि केटाकेटी उफ्रिदा नजाला भन्न सकिँदैन ।
यो लकडाउन कहिले खुल्ने हो ? काम गर्ने मन मात्र हैन आवश्यकता भाको म जस्तालाई त काम गर्न दिए पनि हुन्थ्यो नी। येत्रो १ महिना भईसक्यो अझ नि खुल्ने केहि सुरसार छैन। न त म भारतबाट आको नत विदेशबाट, सजाय चाही सबै भन्दा बढी मलाई मात्र किन देइएको होला जस्ताे लाग्ने। २ हप्ताभन्दा बढी भयो सरकारले दिएको राहत सकिएको पनि , अब त केहि देला नि सरकारले फेरि। पहिलोचोटीको राहत नि १ हप्तापछि देएको थियो जुन एक हप्ता टिक्यो अब फेरि एक हप्तालाई दियो भने त यो लकडाउन टर्थियो की ?
सरकारले केहि गर्ला नि यो हप्ता ? सरकारले कसो केहि नगर्ला यो हप्ता ? कोरोनाको भन्दा नि भोकोमरीको डर हाभी भइसक्यो। आफ्नो भन्दा नि परिवारको चिन्ताले पिरालीरहेको छ। कसरी बच्ने हो खै ? मै निराश भएर हार माने भने यिनीहरुले झन के गर्लान ? भगवान साहस देउ।
" सरकारले केहि गर्ला नि। "
श्रीमतीको मनोवाद
उहाँ खाटमा छतलाई हेरेर टोलाई बसेको देख्दा मनमा कस्तो नरमाइलो छालले प्रवेश गर्यो। बिहान र बेलुकी मात्र देख्ने पाउने अनुहार , यसरी सधै देख्न पाउँदा यो मन निक्कै नै खुसी र आनन्दित छ। यो मनको आनन्द र सन्तुष्टि पेटले पनि बुझ्ने भाको भए येस्तो दुख दिँदैन थियो होला। बिचरा पेट भन्दै रमाउदै होला मन।
उहाँको अनुहारमा जुन खुशी र तेज थियो त्यो अहिले यो लकडाउनमा हराएको छ। हास्न त हास्नु हुन्छ तर खुशी र न्यानोपन छैन यो हासोमा। हाम्रो अवस्था सम्झिएर होला। लुकाउन खोज्नु भाको छ तर उहाँको मुख हेरेर मनको अवस्था थाहा पाउँछु भन्ने कुरा उहाँलाई के थाहा।
त्यस्तो मज्जाले खाने मान्छे,अहिले खाँदा “अलि भोक छैन मलाई काम छैन नी त्यहि भएर हो” भनेर भन्नुहुन्छ। यो भनाइको पछि को रहस्य पनि थाहा छ। म पनि त्यस्तै बाहाना बनाउन खोज्छु तर भित्र भएको बच्चाले गर्दा मन मान्दैन। हजुरले कान्छालाई खानाअघि पानी पियाउनु भएको देख्दा मन नै रोएर आउछ तर आँसु झर्न दिन्न। ३ महिना अघिसम्म दुईजनाले काम गर्दाका दिनहरु झलझल आँखामा आउँछ मेरो, त्यसपछि आराम गर्न घरमा बस्दा र हजुर मात्रले काम गर्दा पनि दिनहरु सुखद नै थिए। तर यो लकडाउनले सबै खुसी खोसिएको छ।
सँगै पढेका साथीहरु सँग फोनमा कुरा हुँदा तिनीहरूको कुरा सुन्दा र तिनीहरूको खुशी सुन्दा रमाइलो लाग्छ तर कता-कता अलिकति डाहा पनि लाग्छ। आफूचाहिँ भोलि के खाने भन्ने चिन्तामा छटपटिएर बसेको छु तर लाग्छ मेरा मित्रहरूका दिन एकदम रमाइलो सँग बितिरहेको छ। सबै भाग्यको खेल हो भन्दै चित्त बुझाउँछु।
अस्ति उहाँको आँखा धेरै वर्षपछि भिझेको देखे। एकैछिन त मलाई त्यो भूकम्प गएको बेलाको झझल्को आयो। त्यो कोलाहल, त्यो दुःख र कष्ट सबै एकैचोटी पुनर्जीवित भयो। उहाँले गर्नसक्ने सबै गर्नुभएको थाहा छ मलाई र हाम्रो घरबेटीले गर्नुभएको माया र दाँया देखि पनि परिचित छु। बेलाबेलामा उहाँलाई केही उत्साहको कुरा जस्तै "सबै ठीक हुन्छ", "भगवानले हेरि हाल्छन नि" भनु कि जस्तो लाग्छ तर सोच्दासोच्दै एक्कासी डरले मेरो मन र दिमाग बन्द हुन्छ। उहाँले खुसी र सबै ठीक भएको देखाउन खोज्नुभएको ऐना चक्नाचुर भई उहाँको आत्मविश्वास हराउने हो कि भन्ने डरले रोकिराखेको छ। अर्को राहात अब छिट्टै आउँछ भन्ने सुनेकी छु। पल्लो घरमा भाडामा बस्ने साथीले भनेकी थिइन् र यो कुरा उनलाई उनकी घरबेटीले भनेकी थिइन् रे। राहात लिन जाँदा मलाई पनि भन्नु, सँगइ जाउला भनेर भन्दा उसले चाल पाएकि रे।
अचम्म लाग्छ पल्लो घरको घरबेटीलाई राहतको के आवश्यकता पर्यो होला। चार तल्ला माथि बसेर, त्यत्रो घरभाडाले नपुगेर राहत पनि चाहियो रे अझ। हुन त पैसा हुँदैमा खान पाइने त होइन। तर हामीसँग पैसा भाको भए त दुई छाक टन्न खाईन्थ्यो, राहतसाहतलाई पर्खेर बसिन्न थियो। बिचारा छिमेकी साथी लकडाउनको वेला घरभाडा कसरी तिर्ने भनेर भन्दै थिइ। मैले त हाम्रो घरबेटीले यस्तो भन्नुभएको छ भनेर भन्दा निकै अचम्म मानेर तीनचोटि दोराएर सोधेकी थिइन्। मैले तिम्रो घरबेटीले भाडा मागेकी छिन् भनेर सोध्न नपाउँदै नै उनले तीन पटक आइसकिन भाडा माग्न भनेर मुखबाट फुस्काइ हालिन्। हुन त मान्छेको मन नै हो भनेर मैले आफ्नो मनलाई सम्झाए र साथीलाई सरकारले केही गर्ला नि भनेर आशा दिए। उनलाई त आशा दिए तर आफूले दिएको त्यो आशामा मैले पूर्णरुपले विश्वास गर्न चाहिँ सकेको छैन।
ठूलीको हसमुख अनुहार र कान्छाको चकचके बानी पनि लकडउनमा थुनिएका छन्। अहिले मुस्कान र चकचकले भन्दा भरपेट खाने सोचाइले तिनीहरूलाई व्यस्त राखे जस्तो छ। अझ अर्को पेटभित्रै छ, त्यो पनि बाहिर भएकोभए के गर्थे होला। स्कुलबरु अर्को वर्षबाट सुरु गरे हुन्थियो नि, यस्तो अवस्थामा काहाँबाट तिर्ने फीस ? कमसेकम अर्को वर्षसम्म पेटमा भाको पनि बाहिर आउँथ्यो र म पनि उहाँलाई कामम सघाउन सक्थे र खानाको समस्या हुँदैनथ्यो। ठुलीले दुईजनालाई हेरी हाल्थी घरमा स्कुल जान नपरेपछि। कहिले खुल्छ होला यो लकडउन ? सरकारले कहिले दिन्छ अर्को राहात ? बाँच्न त बाँचिन्छ होला नि है ? कोरोनाबाट त बाँचिन्छ होला तर यो भोकको रोगबाट चाहिँ के हुने हो ?
" सरकारले केही गर्ला। "
छोरी र छोराको मनोवाद ( ठुली र कान्छा)
ठुली उमेर ११ वर्ष
परीक्षाको नतिजा कहिले आउने हो ? न त पढ्न पाइएको छ न त पेटभरि खान। पानी धेरै पिएर होला त्यस्तो गन्ध आउने टोईलेटमा (शौचालय ) पनि अहिले गन्ध अाउदैन। बुवा र आमालाई यस्तो शान्त र दुखी कहिलै दखेकीथिइन। बुवाले भन्नुभएको कुरा राम्रोसँग बुझेको छु। उहाँको चिन्ता एक एकदमै जाहेज छ , भाइ सानै छ बुझाएर पनि बुझ्दैन भनेर होला उहाँले मलाई मात्र भन्नु भएको।आमाको गाली नखाएको पनि धेरै भयो कस्तो अचम्म लाग्दो रहेछ गाली नखादा पनि। आमाको मनै न हो दया लागेर होला। बुवाआमाले सरकारले अब छिट्टै खान दिन्छ भनेर भन्दै हुनुहुन्थ्यो। सरकारले खान दिएपछि पानीसानी पिउदिन बरु तीनचोटि खानेकुरा खाएर पेट भर्छु तर पानी छुदा पनि छुन्न। सरकारले चाँडै दिए पनि हुन्थ्यो नि।
स्कूल पनि त्यस्तो जाबा के जानु जस्तो लाग्थ्यो तर अहिले दुई महिना कोठामा बसेपछि धेरै मायाँ लागेर जाम जाम लागेको छ। खाना नभएपनि साथीहरूको गफ र ससंगै खेलेर पेट भरिन्थ्योकी की ? यो स्कुल पनि किन नखोलिएको होला सरकारले गर्दा हो कि प्रिन्सिपलसरले गर्दा हो ?
कान्छा उमेर ८ वर्ष
मलाई बाबा र दिदीले किन होला जैले देख्यो कि पानी पिउन भनिहाल्ने। आफूले बिस्कुट र चकलेट खान नपाएकाे बेला पानी मात्र पिआउने। सोध्दा खेरी उहाँहरुले भन्नु भाको सबै पसलहरुले चकलेट र बिस्कुट बेच्न बन्द गरेको छन्। यो सबै लकडाउनले गर्दा हो रे।
किन गरेको होला लकडाउन ? न त खेल्न जान पाउछु न त स्कुल गएर साथी भेट्न। अस्ति बाहिर गएर खेल्दा-खेल्दै त्यही निदाए छु, पछि बिउझिदा आमा,बाबा र दिदीले मलाई हेरी राख्नुभएको देखे र म आफै हाम्रो घरमा पुगिसकेको रैछु। मैले सोध्दा कमजोरीले गर्दा हो भनेर दिदीले भन्नु भयो। मैले फेरि किन भयो कमजोरी भनेर सोध्दा, घामले भनेर बाबाले जवाफ दिनु भयो। घामले गर्दा पानी कम भएको रे अनि त्यस दिनदेखि मेरो पानी पिउने क्रम बढेको छ। घामले गर्दा हो भने बाबा पनि दिनभरी कामको खोजीमा हिड्दा निदाउनु पर्ने हो त ? उहाँलाई किन केहि हुँदैन ? साँच्चै, बाबा धेरै बलियो हुनुहुन्छ। म पनि उहाँ जस्तै हुन्छु ठूलो भएर।
आमाले भन्नुभएको प्रधानमन्त्रीले - टिभीमा जसले त्यो टोपी लगाएर बसेको एउटा बुडो मान्छेले, गरेको रे लकडाउन। कस्तो मान्छे रहेछ आफूचाहिँ गाडी चढेर एता उता हिडी रहने मलाई चाहिँ घरमा थुनेर राख्ने। घामले प्रधानमन्त्रीलाई पनि केहि गर्दैन रहेछ अनि कमजोरी पनि बनाउदैन रहेछ, कस्तो घाम रहेछ। हुन त गाडी भित्र छाया हुन्छ, घामले के नै गर्न सक्छ र।
यो खाली सानालाई र गाडी नचड्नेलाई मात्र दुख दिने रहेछ। यो रोगले पनि हामीलाई मात्र समात्ने त हैन ?
बुवाले अब चाँडै खुल्छ लकडाउन भन्नु भएको छ,खुल्ने बित्तिकै चकलेटको र बिस्कुट खान्छु म त।
सरकार
"कोही पनि नेपाली खाना नपाएर मर्ने छैनन् " प्रधानमन्त्री !! [2]
La Ramro chha bhai. Keep it up...
ReplyDeleteThanks bhai ! 1 month lagayera bhaye ni padhis, khusi lagyo !
Delete